आर्मीको मैदानमा धमाधम नालापानी

काठमाडौं । बलभद्र कुवँर र उनको सेनाले ब्रिटिस सेनासँग लडाई गरेको ऐतिहासिक थलो नालापानीको विषयलाई समेटेर निर्माण भइरहेको फिल्म ‘नालापानी’को यतिबेला राजधानीका विभिन्न स्थानमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा छायांकन भएको थियो ।  शुक्रबारको छायांकनमा नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य थिए । नेपाल आर्मीबाट प्राप्त झण्डै पचास घोडा र करिब ३ सय हतियारसहितका फौज मैदानमा उतारिएको थियो । यो संख्यालाई भिएफएक्सको माध्यमबाट हजारौंको संख्या देखाईने निर्देशक रिमेश अधिकारीले बताए ।

उक्त दृश्य छायांकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो । भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा फिल्मका सम्पादन टीम तथा भिएफएक्स टीमसँगै रहेर काम गरिरहेका छन् । निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बिना यस्तो प्रकारले फिल्म छायांकन सम्भव नभएको बताए । निर्माता मनोज शाक्यले नेपालीको वीर गाथासँग जोडिएको फिल्मलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे ।

फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ । पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य र नितिशा शाक्य निर्माता छन् ।