हैरान शीर्ष गीतमा कलाकारको जम्बो टिम

काठमाडौं । पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘हैरान’ को शीर्ष गीतको छायांकन सकिएको छ । राजधानीको बालाजुस्थित एनएफडिसीमा सेट लगाएर गीतको छायांकन गरिएको हो । जेठ ४ गते रिलिज हुने फिल्मको शीर्ष गीतमा फिल्मका प्रमुख कलाकारको अभिनय छ । गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निष्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकारले फिचरिङ गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको फिल्ममा विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशन छ ।

सौगातले यसअघि ‘लभ यु बाबा’ निर्देशन गरेर विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा राखेका थिए । शीर्ष गीतमा शब्द र संगीत सत्य–स्वरुपराज आचार्यको छ भने उनीहरु दुवैले गायनमा बबिता मानन्धरसँग सहकार्य गरेका छन् । गिरिश खतिवडाको ¥याप रहेको गीतमा राजन इशानको एरेन्ज छ ।

फिल्मका कलाकार गजितले पहिला गीतलाई प्रमोसनको रुपमा मात्र प्रयोग गर्ने सोच बनाएपनि अब भने फिल्ममा नै समावेश गरिन लागिएको बताए । ‘गीतमा हामीले सबै पात्रको टेन्सनलाई देखाउन खोजेका छौ । फिल्म रमाइलो बनेको छ । गीतलाई पनि रमाइलो बनाउन सबैलाई एकै ठाउमा उभ्याएका छौ,’ उनले भने ।

डान्स फेभरको ब्यानरमा निर्मित कमेडी फ्लेबरको फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाइएल लामा निर्माता तथा सम्झना पोखरेल कार्यकारी निर्माता छन् ।कोरियोग्राफर गम्भीरकै कथा रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द्व, सत्य–स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, नवराज उप्रेती र निरज कँडेलको छायांकन र प्रितम पाण्डेको सम्पादन छ ।