जापानमा लिलिबिली हाउसफूल

काठमाडौं । आगामी चैत ३० गते नेपालमा रिलिज हुन लागेको प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’को जापानमा रेड कार्पेट प्रिमियर गरिएको छ । जापानको टोकियोस्थित नकानो जिरो हलमा भएको प्रिमियरमा प्रदिप र जसिताको रोमान्स हेर्न आएको दर्शकको भीडका कारण हल हाउसफूल बनेको थियो ।

प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए । डेस्टिनी क्रिएसन जापानले आयोजना गरेको प्रिमियरमा फिल्म हेरेपछि अधिकांश दर्शकले प्रदिप र जसिताको जोडीलाई रुचाएका थिए । निर्माता गोविन्द शाहीले फिल्म प्रति जापानमा रहेका नेपालीहरुको माया तारिफयोग्य रहेको बताए । ‘हामीले सोचे भन्दा राम्रो दर्शक आउनुभएको छ । हल हाउसफूल नै बन्यो,’उनले भने । आयोजकले फिल्मको दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको जनाउँदै आगामी दिनमा पनि नेपाली फिल्मको शो गर्दै जाने बताए ।

मिलन चाम्स निर्देशित फिल्ममा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाउदै छ । सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।