चार भाषामा देवको म्हेन्दू

काठमाडौं । हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्धको कथालाई समेटेर फिल्म ‘म्हेन्दू’ को घोषणा गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने फिल्म नेपाली भाषामा निर्माण गरी अंग्रेजी, जापानीज र भोजपुरी भाषामा डबिङ गरेर प्रदर्शन हुनेछ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले मुहुर्तको क्ल्याप हिर्काउँदै नेपाली मौलिक जनजीविकालाई उठान गर्ने यो फिल्म फिल्मी जगतमा कोसेढुंगा साबित हुने बताए । फिलमका लेखक तथा निर्देशक देव नेपालले फिल्ममा जनमानसमा भैपरी आउने दैविक प्रकोपको पीडा र त्यस समुदायमा व्याप्त अन्धविश्वास र रुढीवादी चिन्तनलाई कथाको रुपमा प्रस्तुत गरिने बताए । निर्माताद्वय अर्जुनप्रसाद डोटेल र रामकुमार अधिकारीले फिल्मको हिमाली जिल्ला डोल्पाको शेफोक्सुण्डोदेखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारीमा अवस्थित विश्वकै अग्लो स्थानमा रहेको मानव बस्ती छार्कामा छायाँकन हुने जनाए ।

कार्यक्रममा अभिनेता नीर शाह, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले फिल्मलाई शुभकामना दिएका थिए । फिल्ममा भोला तिमल्सिना, रमेश सोडारी, सोनु राई, एसराज कुमार, विन्दा थिङ, कालु राना, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देवकोटा, किशोर खतिवडाको अभिनय छ ।

चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको फिल्ममा बुद्धिमान तामाङ र दुर्गा साहारा खड्का सह–निर्माता छन् । सुदिप डोटेल प्रस्तुतकर्ता रहेको फिल्म वैशाख पहिलो साताबाट फ्लोरमा जाने छ । फिल्ममा रोहितविक्रम कार्कीको छायांकन, कुमार लामा योञ्जन, विमल डाँगी र सरोज कोइरालाको संगीत रहनेछ ।