सलमान जेल जाँदा चार सय करोड जोखिममा

मुम्बई (एजेन्सी) । भारतको जोधपुर अदालतले कालो हरिणको शिकारमा दोषी ठहराउँदै बलिउड अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय र १० हजार रुपैंयाँ जरिवानाको आदेश दिएको छ । सन् १९९८ सेप्टेम्बर २६ मा फिल्म ‘हम साथ साथ है’को सुटिङ ताका फिल्मका सह–कलाकारको उक्साहटमा सलमानले हरिणको शिकार गरेको भन्दै उनीमाथि मुद्धा दायर भएको थियो । उनीमाथि यो घटनाको दुई दिनपछि सेप्टेम्बर २८ मा सलमान माथि घोडा फार्ममा अर्को एक कालो हरिण शिकार गरेको आरोप लागेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोही वर्षको अक्टोबर २ मा स्थानीय विश्नोई समुदायले सलमानका विरुद्ध मुद्धा दर्ता गराएका थिए । विश्नोई समुदाय कालो हरिणलाई भगवानको रुपमा मान्ने गर्दछन् । ५२ वर्षे सलमान अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिने तयारीमा छन् । सलमान केही दिनका लागि जेलमा बस्नेछन् ।

सलमान माथि कालो हरिणको शिकारका मामलामा तीन र अवैध हतियार राखेको मामलामा एक मुद्धा अदालतमा दर्ता भएको थियो । तीनवटा मुद्धाबाट सफाई पाए पनि उनीमाथि एक मुद्धा थाँती थियो । सलमान माथि सन् २००६ मा परिक्षण अदालतले दुई मुद्धामाथि दोषी ठहराउँदै पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर सोही वर्ष राजस्थानको उच्च अदालतले सलमानको विरुद्धको आदेश खारेज गरेको थियो ।  बलिउडमा सलमानले झण्डै सय बढी फिल्ममा अभिनय गरिसकेका छन् । भारतमा सलमानका धेरै प्रशंसक छन् । विशेषत अंग्रेजी बोल्ने मध्यम वर्गको समुदायदेखि सुकुम्बासी तहसम्मका फ्यानको रोजाईमा सलमान पर्दछन् । रोमान्टिक र एक्सन फिल्मका लागि प्रख्यात सलमानले धेरै भारतीय फिल्म अवार्ड जितेका छन् ।

अदालतले सलमानको विपक्षमा सजाय सुनाएपछि उनको नाममा बलिउडमा लगानी गरिएको झण्डै चार सय करोड रुपैंयामा जोखिममा परेको छ । सलमान हाल फिल्म ‘रेस ३’को सुटिङमा व्यस्त छन् । सलमानको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मको बजेट १ सय ५० करोड रुपैंयाँ छ । यो फिल्मको सुटिङ सकिएको छैन । सलमानले अदालतबाट सजाय पाएपछि यो फिल्मको काम अघि बढ्छ या बढ्दैन भन्ने अन्यौलता सिर्जना भएको छ । फिल्मको काम अघि नबढ्दा निर्मातालाई ठूलो मात्रामा आर्थिक क्षति हुनेछ ।

सलमानको होम प्रोडक्सनले निर्माण गरेको फिल्म ‘दबंग’को तेस्रो सिक्वेल ‘दबङ ३’को सुटिङ पनि चाँडै शुरु हुँदैछ । यो फिल्मको दुई सिरिजमा सलमान र सोनाक्षी सिन्हा देखिएका छन् । तेस्रो श्रृंखलामा पनि सलमान नै देखिने फिल्मको बजेट १ सय करोड मानिएको छ । फिल्म व्यापार विश्ल्ेषक अमोद मेहराका अनुसार ‘रेस ३’ बाहेक फिल्म ‘दबङ ३’, ‘किक २’ र ‘भारत’को सुटिङ हुन बाँकी फिल्म हुन् । तर फिल्मको सुटिङ शुरु हुनु अघिको प्री–प्रोडक्शनको काम शुरु भइसकेको छ । यी फिल्मको प्री–प्रोडक्सनमा झण्डै सय करोड रुपैंयाँ लगानी भइसकेको छ । सलमान बलिउडका त्यस्ता सुपरस्टारमध्ये एक हुन् । जोमाथि फिल्म उद्योग धेरै हदसम्म निर्भर छ । सलमान जेल जाँदा उनी माथि लागेको करोडौंको लगानी बालुवामा पानी सरह हुने देखिएको अमोदले बताए ।