राजकीय भ्रमणमा मख्ख कलाकार

काठमाडौँ । प्रधानमन्त्रीको शुक्रबारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक फिल्म क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो ।  प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदैछन् । भ्रमण दलमा लोकप्रिय नायक राजेश हमाल र निर्देशक दिनेश डिसी सहभागी छन् । नेपाली फिल्म उद्योगलाई लामो समयदेखि आफ्नो छाप दिन सफल नायक हमालले भने, ‘प्रधानमन्त्रीको सरकारी भ्रमण टोलीमा सहभागी हुनु नै मेरा लागि खुसीको विषय हो ।’

नेपाली फिल्म उद्योगले ‘महानायक’को दर्जा दिएको हमाल नेपाल भारतबीच राजनीतिक पाटो मात्रै नभई कला संस्कृति, सामाजिक एवं सांस्कृतिक एवं फिल्म क्षेत्रको समेत विशेष सम्बन्ध रहेको बताउँछन् । नायक हमालले भने, ‘नेपाल र भारतबीच सामाजिक, भाषिक, सांस्कृतिक एवं कलाको समेत विशेष सम्बन्ध र पाटा छन् । यो नितान्त अलग पाटो हो । त्यससँगै धार्मिक पक्ष पनि छ । यी सबैलाई मध्यनजर गरी सम्बन्धको सेतूलाई अझ बढी प्रगाढ बनाउन हामी आफैँले प्रयास गर्नुपर्छ ।’

दुई देशबीच राजनीतिकसँगै अरु सबै क्षेत्रमा महत्वपूर्ण सम्बन्ध अगाडि बढोस् भनेर नै प्रधानमन्त्रीको भ्रमण दलमा प्रतिनिधित्व गराइएको जस्तो आफूलाई लागेको नायक हमालको टिप्पणी छ । नेपाली कलाकार र भारतीय कलाकारबीचमा छलफलको कार्यक्रम पनि तय भएको छ भन्ने आफूले पाएको जानकारी दिँदै त्यसमा दुई उद्योगबीच मैत्री सम्बन्ध स्थापनाका लागि विशेष पहल हुने विश्वास व्यक्त गरे । कला संस्कृतिले नै दुई देशको सम्बन्धलाई बढी प्रगाढ बनाएको स्मरण गर्दै नायक हमालले धार्मिक, गीत संगीतका पक्ष नै महत्वपूर्ण एवं सम्बन्ध विस्तारको खास पक्ष रहेको उल्लेख गरे ।

भ्रमण दलका सदस्य निर्देशक डिसी कलाक्षेत्र र कलाकार राष्ट्रको प्राथमिकतामा छ भन्ने प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएकाले पनि स्पष्ट भएको बताए । ‘कलाकार पनि राष्ट्रका लागि काम गर्छन् भन्ने देखिएको छ, त्यो हामीले अनुभव गर्न पाएका छौँ’–खुसी व्यक्त गर्दै निर्देशक डिसीले भने, ‘कला क्षेत्र पनि राज्यको प्राथमिकताको क्षेत्र हो, महत्वपूर्ण क्षेत्र हो भन्ने कुरा सरकारले पहिचान गरेको छ ।’ नेपालको आर्थिक उन्नयनका लागि समेत चलचित्र पर्यटन एउटा विशिष्ट र महत्वपूर्ण पाटो हुन सक्ने निर्देशक डिसीको भनाइ छ । नेपालका पोखरा, डोल्पा, जुम्ला, सोलुखुम्बुजस्ता स्थान विश्वकै लागि समेत सौन्दर्यको अनुपम स्थान भएकाले विदेशी चलचित्रकर्मीलाई नेपाल भित्र्याउनै पर्ने उनको भनाई छ । (राससबाट)