यसरी खिचियो दयाको मिष्टर झोले

काठमाडौं । आगामी पुस २८ गतेबाट रिलिज हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’को चर्चा यतिबेला बजारमा राम्रै छ । फिल्म ‘कबड्डी’बाट चिनिएका निर्देशक रामबाबुले यो फिल्मको ट्रेलरमा पनि ‘कबड्डी’ फ्लेबरलाई केही रुपमा अंगालेका छन् ।

फिल्मको गीत र ट्रेलरले चर्चा पाइरहँदा फिल्म युनिटले फिल्मको सुटिङ गर्दाताकाको मेकिङ भिडियो सार्वजनिक गरेको छ । भिडियोमा कलाकारले सुटिङ गर्दाका रमाइलो क्षणदेखि विविध कुरा समेटिएको छ ।

फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको निर्माता टेकेन खड्का र कार्यकारी निर्माता रौनकविक्रम कँडेल हुन् ।