५० हजार जमानतमा सलमान रिहा

मुम्बई (एजेन्सी) । भारतको जोधपुर अदालतले गत बिहीबार पाँच वर्षको जेल सजाय सुनाइएका अभिनेता सलमान खान शनिबार जमानतमा रिहा भएका छन् । जोधपुरको जिल्ला सत्र न्यायालयले सलमानलाई ५० हजार रुपैंयाँ जरिवाना तिराउँदै जमानतमा रिहाइको आदेश दिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार अदालतले २० वर्ष पुरानो कालो हरिणको शिकारको मामलामा पाँच वर्षको जेल सजाय सुनाएको थियो । जोधपुरको न्यायालयले सलमानले दिएको जमानतको निवेदनको सुनुवाइ शुक्रबार गर्ने भने पनि तल्लो अदालतमा उक्त मुद्दाको कुनै रेकर्ड नभेटिएपछि शनिबारसम्मका लागि समय छुट्याइएको थियो ।

सलमानको जमानत हुन सक्ने सम्भावना देखिएपछि शनिबार बिहानबाटै जोधपुर अदालत बाहिर सर्वसाधारणको भीड लागेको थियो । अदालतले सलमानको जमानत स्वीकारे पछि अदालत बाहिर सलमानका फ्यान खुशीले नाचेका थिए । कालो हरिणको सिकारसँग जोडिएको यो सलमानको चौथो मुद्दा हो । सन् १९९८ मा सलमानले कालो हरिणको सिकार गरेपछि उनीमाथि स्थानीयले मुद्दा हालेका थिए । सलमानका विरुद्धमा मुद्दा परेपछि प्रहरीले उनलाई जोधपुर सेन्ट्रल जेलमा आठ दिन थुनेको थियो ।

फिल्म ‘हम साथ साथ हैं’को जोधपुरमा सुटिङ भइरहँदा सलमानले कालो हरिणको सिकार गरेका थिए । जोधपुरका मुख्य न्यायिक मजिष्ट्रेट देवकुमार खत्रीले बिहीबार सलमानको विपक्षमा फैसला गर्दै कालो हरिण लोपोन्मुख रहेकाले त्यसको असर पारिस्थितिक प्रणालीमा देखिने भन्दै २ सय १ पृष्ठको लिखित फैसलामार्फत सलमानलाई जेल सजाय सुनाएका थिए । सलमानसँगै अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली वेन्द्रे, तब्बु, नीलम र दुष्यन्तको विपक्षमा मुद्धा चलाइए पनि सलमानबाहेक सबैले सफाई पाएका छन् ।