मिस इको इन्टरनेशनलमा नेपालकी मौनता

काठमाडौ । इजिप्टमा हुन लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपाली सुन्दरी मौनता लामाले सहभागिता जनाउने भएकी छन् । आगामी अप्रिल १० देखि ३० सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन लामा इजिप्टतर्फ उडेकी छन् । ६० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रम गर्दै उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाइदिएर प्रतियोगिताका लागि चयन गरेको हो ।

कपन निवासी १८ वर्षीय लामाले नेपालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन राम्रो प्लेटफर्म पाएको बताइन् । ‘नेपालको सांस्कृतिक र देशमा रहेको सांस्कृतिक र पर्यटकीयस्थलको पहिचानसहितको डकुमेन्ट्री लिएर प्रतियोगीतामा जाँदैछु ।’ उनले भनिन् । ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले लामा प्रतियोगितामा इको ड्रेस, राष्ट्रिय पहिरन, इभिनिङ गाउनको पहिरनमा प्रस्तुत हुने बताए । यसअघि प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र रोनाली अमात्यले सहभागिता जनाइसकेका छन् ।