अभिनयबाट रिमीको सन्यास

मुम्बई(एजेन्सी) । फिल्म ‘हंगामा’, ‘बागबान’, ‘धूम’, ‘गरम मसाला’, ‘गोलमाल फन अनलिमिटेड’ र ‘फिर हेरा फेरी’मा अभिनय गरिसकेकी अभिनेत्री रिमी सेनले अभिनयबाट सन्यास लिने घोषणा गरेकी छन् । उनले फिल्म निर्देशनमा चासो दिएपछि अभिनय यात्राबाट विश्राम लिने निर्णय लिएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब रिमीको नाम अभिनयबाट निर्देशनमा आएका कलाकारको सूचीमा थपिनेछ । ‘म लगातार कमेडी फिल्ममा मात्र देखिइरहेकी छु । जसकारण मलाई निकै बोर लाग्यो । त्यसकारण केही नयाँ प्रयास गर्ने योजना अनुरुप अभिनयलाई विश्राम दिन लागेकी हुँ ।’ उनले भनिन् ।
बलिउडमा रिमीको अभिनयमा फिल्म विश्लेषकले निकै सराहना गरेका छन् । उनी हालै मात्र टेलिभिजन रियालिटी शो बीग बोसमा देखिएकी थिइन् ।