प्रसाद खोज्दै नम्रता–विपिन

काठमाडौं । एउटै फिल्ममा अभिनय गरे पनि जोडीका रुपमा अभिनय नगरेका कलाकारद्वय नम्रता श्रेष्ठ र विपिन कार्की नयाँ फिल्म ‘प्रसाद’मा भने निःसन्तान श्रीमान् श्रीमतीको रुपमा देखिने भएका छन् । निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्मको सोमबार राजधानीमा घोषणा गरियो ।

नम्रताले फिल्ममा विपिनसँग काम गर्न पाउँदा उत्साहित भएको बताइन् । ‘फिल्ममा म विपिनसँग जोडी बाँधिदैछु । अहिलेसम्म थ्रिलर र रोमान्टिक मुडमा देखिने म यो फिल्ममा गृहिणीको भूमिकामा देखिनेछु,’ उनले भनिन्, ‘विपिनसँगको मेरो जोडी दर्शकका लागि नयाँ स्वाद बन्नेछ ।’ नम्रताले यसअघि ‘मेघा’ मा पनि एक श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । अभिनेता विपिनले पहिलोपटक नयाँ टिमसँग काम गर्न पाउँदा उत्साहित बनेको खुलाए । ‘नयाँ टिमसँग काम गर्न पाउँदा खुसी छु । हरेक फिल्ममा नयाँ चरित्रमा मलाई दर्शकले देख्दै आउनुभएको छ । यसमा मैले त्यो कुरालाई निरन्तरता दिएको छु,’ उनले भने ।

निर्देशक राउतले फिल्मले परिवारमा सन्तान नहुँदा श्रीमान् र श्रीमतीमा देखिने मनमुटावको विषयबस्तुलाई प्रस्तुत गरिने बताए । ‘यो विशुद्ध पारिवारिक कथा हुनेछ । यसअघि मैले फिल्ममा प्रेमसँगै मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरेको थिएँ,’ निर्देशक राउतले भने, ‘निःसन्तान दम्पतिमा आउने समस्या तथा अविश्वासको कथा हेरेपछि दर्शकलाई फिल्मले केही सोच्न बाध्य बनाउनेछ ।’ दिनेशले यसअघि फिल्म ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ र ‘पर्व’ निर्देशन गरिसकेका छन् ।

यही फिल्मबाट फिल्म लेखनमा डेब्यु गरेका पत्रकार सुशील पौडेलले फिल्मको कथा दर्शकका लागि नयाँ हुने दाबी गरे । सुवासा थापाको लगानी रहने फिल्ममा नवीन मानन्धरको पनि अभिनय रहनेछ । वैशाखको अन्तिम साताबाट सुटिङ थालिने फिल्ममा राजेश श्रेष्ठको छायांकन, कोशिस क्षेत्री र सुवास भुषालको संगीत रहेको छ ।