लिली बिलीमा प्रदिप चकलेटी प्रेमी

काठमाडौं । अघिल्ला फिल्ममा चकलेटी प्रेमीका रुपमा देखिएका नायक प्रदिप खड्काले आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘लिली बिली’मा पनि त्यो छापलाई त्याग्न सकेका छैनन् । फिल्मको सार्वजनिक ट्रेलर होस् या गीत हेर्दा पनि प्रदिपको त्यो चरित्रबारे सहजै अनुमान लगाउन सकिन्छ ।

प्रदिपले सोमबार पत्रकारमाझ आफू चकलेटी प्रेमीकै रुपमा रहेको स्वीकारे । ‘बजारमा ममःको स्वाद दर्शकलाई मन परिरहेको बेला अरु कुरा मिठो नलाग्न सक्छ । मलाई दर्शकले चकलेटी प्रेमीको भूमिकामा मन पराईरहेको बेला अरु भूमिकामा स्विकार्न कतै गाह्रो हुने होकी भनेर मैले यसमा चकलेटी प्रेमीकै भूमिका निर्वाह गरेको हुँ ।’

उनले आफुले बजारमा पारिश्रमिक माग्ने भन्दा पनि निर्माताहरुले पारिश्रमिकको अफर लिएर आउने भएकोले सोही अफरमा काम गर्दै आएको उनले बताए । नवनायिका जसिता गुरुङले एउटा नृत्य प्रतियोगितामा उत्कृष्ट भएपछि निर्देशक मिलन चाम्सको अफरमा आफुले फिल्ममा अभिनय गरेको बताइन् ।

फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले फिल्म अन्तर्राष्ट्रियस्तरको बनाउन यसपटक ‘लिली बिली’लाई बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन गरिएको खुलाए । अनुपविक्रम शाही, प्रियंका कार्की, सबिन श्रेष्ठको पनि अभिनय रहेको फिल्ममा गोविन्द शाही, मिलन चाम्स र सुदिप खड्काको लगानी छ ।