प्रेममा रोमान्टिक मलिना–मनिष

काठमाडौं । आगामी असार ८ गते रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र संगीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको ‘मेरो हर सासमा’ बोलको गीतमा नायिका मलिना जोशी र नायक मनिष सुन्दर श्रेष्ठले रोमान्स गरेका छन् ।

राजधानीमा मंगलबार पत्रकारमाझ गीत सार्वजनिक भइरहँदा कार्यक्रममा प्रमुख कलाकार मनिष भने उपस्थित भएनन् । उनले फिल्ममा निकै मेहनत गर्नु परेको बताउँदै नायक मनिषसँग आफ्नो क्यामेष्ट्री मिलेको दाबी गरिन् । ‘मैले मनिष कै लागि यो फिल्म खेलेकी हुँ । यहाँ मनिष नहुँदा खल्लो लागिरहेको छ,’उनले भनिन्, ‘फिल्मको गीत बनाउन चार दिन लाग्यो ।’

फिल्मका लेखक तथा निर्देशक विकास बस्यालले फिल्मको स्क्रिप्ट राम्रो रहेकाले दर्शकका लागि फिल्म रुचीकर हुने बताए । बीएण्डबी फिल्मस्को व्यानरमा बनेको फिल्ममा मलिना र मनिषसँगै वर्षा सिवाकोटी, स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना, विश्व बस्नेत, रुपा राना र सन्दिप पोखरेललगायतका कलाकारको अभिनय छ । फिल्ममा मदन दवाडी, हरिप्रसाद अधिकारी र डाल चन्द्र दवाडीको लगानी छ । प्रकाश बास्कोटा कार्यकारी निर्माता रहेको फिल्ममा बिना कार्की सहनिर्माता छिन् । फिल्म काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन गरिएको छ ।