‘रित्तो महशुस भइरहेको छ’

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’ सार्वजनिक भएको छ । आफैले पुस्तक सार्वजनिक गर्नु अघि शिवानीले ‘सेतो धरती’का लेखक तथा मदन पुरस्कार विजेता अमर न्यौपानेसँग साक्षात्कार गरेकी थिइन् ।

कार्यक्रममा लेखक थारुसँग कुराकानी सुरु गर्दै मदनले झण्डै नौ वर्ष साहित्यक गर्भमा राखेर उपन्यासरुपी सन्तान जन्माउँदा कस्तो लागिरहेको छ भन्दै प्रश्न गरेका थिए । ‘म खुसी छु । तर, पहिला उपन्यास लेखिरहँदा जति म खुसी हुन्छु होला सोचेको थिएँ त्यही होइन कि ? पहिला मलाई लाग्थ्यो, म उपन्यास सार्वजनिक भएपछि एक फिट उड्छु तर त्यस्तो महसुस भइरहेको छैन’उनले भनिन्, ‘मलाई त बरु रित्तोरित्तो महसुस भइरहेको छ । अनि मैले अहिलै नै केही अर्को लेखिनभने म निरास हुन्छ, डिप्रेसनमा जान्छु कि जस्तो लाग्न थालिसकेको छ ।’

शिवानीले पुस्तकमा मधेश आन्दोलनपछि उदाएका सशस्त्र समूहमाथि केन्द्रित रहेर उपन्यास लेखेकी छन् । ‘म सात कक्षामा पढ्दा जनआन्दोलन भयो, मास्टर्स पढ्दा दोस्रो जनआन्दोलन भयो । अनि मैले थेसिस गर्दै मधेश आन्दोलन भयो । तिनको प्रभाव अवचेतन रुपमा ममा गडेर बसेको थियो । फेरि पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो,’शिवानी खुलिन्, ‘अनि उपन्यासको पात्रको पृष्ठभन्दा मेरा पृष्ठभूमि पनि त्यति फरक नहोला । मेरा बुवाले मन्त्री हुँदा ५०५ चुरोट खानुहुन्थ्यो, मन्त्री नहुँदा देउराली । म कहिले मध्यमवर्गीय कहिले निम्म वर्गीय पृष्ठभूमिमा हुर्किएँ । फेरि पात्रहरु प्रति लेखकको ‘इम्प्याथी’ भयो भने जुन परिवेशको कथा पनि उसले लेख्न सक्छ । जर्ज अर्वेलले ‘अनिमल फार्म’ सुँगर भएर त लेखेका होइनन् !’ शिवानीले ठाउँको ‘साउन्ड स्केप’का लागि, उपन्यासको अथेन्टिसिटीका, पाठक अपनत्व महसुस गरोस् भनेर आफूले भाषिका प्रयोग गरेको बताइन् । उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो ।