कमेडी फ्लेबरमा जय भोले टिजर

काठमाडौं । निर्देशक अशोक शर्माको कमब्याक फिल्म ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछि निर्देशनमा फर्केका शर्माको ‘जय भोले’ २०७५ सालको फूलपातीमा रिलिज हुँदैछ । टिजरलाई निर्माण पक्षले कमेडी फ्लेबरमा बनाएको छ ।

ह्युमर तथा सोसल कमेडी ड्रामामा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा भन्छ ।

१ करोड ६० लाख बजेटमा निर्मित फिल्म झापा र इलाममा छायांकन भएको हो । फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । फिल्ममा निर्देशक शर्माको निर्माणसँगै अभिनय पनि छ ।