फष्टलुकमा अनुपको दोख

काठमाडौं । फिल्म निर्देशक तथा कलाकार अनुप बरालको निर्देशन रहेको नयाँ फिल्म ‘दोख’ को फष्टलुक सार्वजनिक भएको छ । पोस्टर फिल्मको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक भएको हो । सामाजिक विषय र द्वन्द्वको कथा समेटिएको फिल्ममा राजन कठैतको कथा र पटकथा छ ।

फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, सुरज मल्ल, देव न्यौपाने, अनोज पान्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिबज राईको अभिनय छ । निर्देशक अनुपले द्वन्द्वकालिन समयमा नेपालका अलग अलग भु–भागमा घटेका केहि घटनाको संयोजनबाट फिल्म बुनिएको बताए । ‘फिल्मले गाउँमा हुने फुटबल खेलसँग जोडिएर पावर पोलिटिक्स र रिभेन्ज गेमको एउटा अनौठो तानाबुना बुन्छ ।’ उनले भने ।

शैलेन्द डि कार्कीले छायांकन गरेको फिल्ममा भोजपुर जिल्लाको सुन्तले र बाघखोर गाविस वरपरका दृश्य समेटिएको छ । एसजि टि प्रोडक्सन र ग्रीन हिल इन्टरटेनमेन्टको व्यानरमा बनेको फिल्ममा सबिन ज्ञावलीको लगानी छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्रवण मुकारुङको गीत, आभाषको संगीत र नेपथ्यका गायक अमृत गुरुङको शीर्ष गीतमा स्वर छ ।