मन माग्दै दीपक बज्राचार्य

काठमाडौं । नेपाली पप गायनमा दीपक बज्राचार्यको नाम अब्बल गायकका रुपमा स्थापित छन् । पछिल्लो समयमा आफ्ना हरेक गीतमा नेपाली लोक बाजालाई फ्युजन गरेर प्रयोग गरिरहेका दीपकले ‘मनमगन’ नामक नयाँ गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । सञ्चारकर्मी सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोको शनिवार नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरियो ।

राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले आफ्नो ‘अल्लारे’, ‘ओ अमिरा’, ‘जुजु नाना नाना’, ‘काली काली’, ‘सानी’, ‘प्रिय तिमी आयौ’लगायतका गीत सुनाएका थिए । उनको छोरी चेरिसा बज्राचार्यले पनि गीत गाएकी थिइन् ।

गायक दीपकले गीतमा विभिन्न संस्कृतिलाई देखाउने कोशिस गरेको बताए । गीतमा रिकी शाक्यको शब्द, दीपक र रिकीकै संगीत र रिदम व्याण्डको संगीत संयोजन छ । भिडियोमा अनिल मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।