२५ रुपैंयाँमा राजु लामाका गीत

काठमाडौं । स्थापनाको २५ वर्ष पुगेको मौका छोप्दै चर्चित सांगीतिक व्याण्ड ‘मंगोलियन हर्ट’ले आगामी वैशाख ८ गते राजधानीमा ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नामक कन्सर्ट गर्ने भएको छ । सामाजिक सेवाका लागि गरिने यो कन्सर्टमा दर्शकका लागि टिकटको मूल्य पनि २५ रुपैंयाँ नै राखिएको छ ।

व्यान्डका प्रमुख गायक राजु लामाले व्यान्ड स्थापनाको २५ वर्ष पुगेको अवसरमा कन्सर्ट हेर्न आउने दर्शकका लागि २५ रुपैंयाँको टिकट तोकिएको बताए । ‘यो कन्सर्ट व्यावसायिक कन्सर्ट हुनेछैन । व्यान्ड स्थापनाको २५ औं वर्षलाई उत्सवको रुपमा मनाउन कार्यक्रम गर्न लागेका हौं,’राजुले भने,‘हामीले कन्सर्टबाट उठेको रकम टुसाल क्लबलाई हस्तान्तरण गर्नेछौं । यो क्लबले सामाजिक सेवामा आफूलाई सक्रिय बनाइरहेकाले कन्सर्टको रकम सामाजिक काममा लगाउने निर्णय गरेका हौं ।’उनले आफैले सामाजिक काम गर्दा त्यसको व्यवस्थापन गर्न गाह«ो हुने भएकाले स्थानीयसंस्थासँग सहकार्य गरेको बताए।

राजुले कन्सर्टलाई व्यान्डमा आबद्ध पुराना सदस्यसँगको पुनर्मिलनसँगै समीक्षा र सम्झनाको माध्यम बनाइने बताए । ‘हामी २०७५ साल भित्र देशका प्रमुख २५ स्थानमा विभिन्न चरणमा कन्सर्ट गर्दैछौं । सम्भवत दशैं अगाडिबाट कन्सर्टमार्फत देश घुम्नेछौं,’राजुले भने,‘हामी सबै ठाउँमा हुने कन्सर्टमा स्थानीय संस्थासँग सहकार्य गर्नेछौं । कन्सर्टबाट उठेको रकम समाजसेवामा खर्चने भएकाले पनि सहयोगको ज्यादा अपेक्षा राखेका छौं ।’

टुसालस्थित ह्यात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा व्यान्डले ‘उँभोउँभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाइटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा बिझ्यो सिरानी’, ‘हल्ला चलेछ’ लगायतका गीत चर्चित सुनाउनेछ ।

सन् १९९३ मा स्थापना भएको व्यान्डले हालसम्म ‘सोल्टिनी’, ‘मंगोलियन हर्ट’, ‘मंगोलियन हर्ट २’, ‘मंगोलियन हर्ट ३’, ‘मंगोलियन हर्ट ४’, ‘मंगोलियन हर्ट ५’ र ‘मंगोलियन हर्ट ६’ एल्बम बजारमा ल्याइसकेको छ । व्यान्डले ह्यातको कन्सर्टमै नयाँ एल्बम पनि सार्वजनिक गर्नेछ । व्यान्डमा प्रमुख गायकमा राजु लामा, गिटारमा बबी लामा, गितारमा किरण नगरकोटी, ड्रम्समा सन्तोष थापा र बेसमा पवन कपाली छन्।