‘रि सुट’पछि वैशाखमा आउँदै सबिनको हिरो रिटर्न्स

काठमाडौं । नायक सबिन श्रेष्ठको डेब्यु निर्माण रहेको फिल्म ‘हिरो रिटर्न्स’ आगमी २०७५ वैशाख २८ गते रिलिज हुने भएको छ । निर्माण सम्पन्न भएको लामो समय पछि फिल्म रिलिज नभएपछि अन्यौलता छाइरहेका बेला निर्माता तथा फिल्मका नायक सबिनले फिल्मको ‘रि सुट’को कारण रिलिज ढिलो भएको खुलाए ।

‘यसअघि नै फिल्मको सम्पूर्ण काम सकिएको थियो । फिल्मलाई दोहो¥याएर हेर्दा केहि कुराहरु चित्तबुझ्दो नलागेपछि त्यसलाई पुन सुट गर्नुपर्दा रिलिजमा केही अन्तर देखिएको हो,’ उनले भने, ‘फिल्ममा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरेकोले केही ढिलाई भएको हो ।’ आशिष भेटवालको निर्देशन रहेको फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठलगायतको अभिनय छ ।

कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले छायांकनको जिम्मा सम्हालेका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।

चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन् । सविन फिल्मस्को ब्यानरमा बनेको फिल्ममा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

फिल्म नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलियासँगै लण्डन प्रिमियर हुने भएको छ । फिल्मको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ । लण्डन सहितका सबै ठाउँमा आउँदो फेब्रुअरीमा फिल्म देखाइने सविनले बताए ।