चिसो मौसममा तातो क्याटवक

काठमाडौं । पुषको चिसोले राजधानीसहित नेपाल कठयाङ्ग्री रहेको बेला राजधानीको चाबहिलमा रहेको ह्यात रिजेन्सी होटल शुक्रबार राति फेसनले तातियो । एकपछि अर्काे सिक्वेन्समा मोडलसँगै शो टपरका रुपमा नेपाली फिल्म क्षेत्रका सेलिब्रेटीहरु र्याम्पमा देखिँदा दर्शकहरुले चिसोपनको महशुस गर्न पाएनन् ।

राजधानीका उत्कृष्ट र व्यावसायिक ६ दर्जन मोडलले र्याम्प नाप्दा उनीहरुले १३ सिक्वेन्समा तयार पारिएका पहिरन शोमा देखाउन पाए । लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।

आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गरेको ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ यो फेशन शोको व्यवस्थापन नेक्स्ट मोडल्स् नेपालले गरेको थियो । करिब ३ घन्टा चलेको शोमा आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्ययनरत २०१७ मा पास आउट ५१ विद्यार्थीले तयार पारेका विभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइन मोडलले प्रदर्शन गरेका थिए ।

पूर्व मिस नेपाल तथा मोडल माल्भिका सुब्बाले सञ्चालन गरेको शोमा अभिनेत्री स्वतिमा खड्का, अशिष्मा नकर्मी, मलिना जोशी शो टपरको रुपमा थिए । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले विद्यार्थीले अध्ययनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रबद्र्धनका लागि कार्यक्रम गरिएको बताइन् ।

फेसन शोका लागि नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवि धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मालगायतले मोडल छनौंट गरेका थिए । मोडललाई अन्तर्राष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण दिएका थिए ।