ब्ल्याकमा भीएफएक्सको बाहुल्यता

काठमाडौं । जेठ ११ बाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘ब्ल्याक’मा पछिल्लो समयमा प्रविधिमा फष्टाउँदै गएको भीएफएक्स प्रविधिको प्रयोग अत्याधिक गरिएको छ । फिल्मका निर्देशक प्रदिप श्रेष्ठले फिल्मको बजेटको झण्डै आधा खर्च भीएफएक्समा भएको बताएका छन् ।

‘फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो,’उनले भने,‘ फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बीना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको छ । फिल्मको एक गीत ‘पल पल हरपल’मा समावेश भिएफएक्सको पाटोले पनि उनको कुरालाई पुष्टि गर्छ । उक्त गीतमा दर्शकले प्राकृतिक मान्ने गरी दुरुस्तै देखिने प्रकारले थुप्रै दृश्य भिएफएक्सको माध्यमबाट ‘नेचुरल’ देखाइएको छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश श्रेष्ठ आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । \ द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।