सेल्फी खिच्दै डण्डीबियो ठ्याक

काठमाडौं । आगामी वैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘डमरुको डन्डीबियो’को प्रचारप्रसारलाई नयाँ ढंगले प्रस्तुत गर्न फिल्म युनिटले शनिवार राजधानीको ठूलो टुँडिखेलमा डण्डीबियो खेलेका छन् । पूर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित फिल्मले शनिबार दिउँसो ‘ठ्याक लाउने’ प्रतियोगिता राखेको थियो । प्रतियोगितामा फिल्मका प्रमुख कलाकारसँगै सर्वसाधारणले पनि सहभागिता जनाएका थिए ।

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई २५ सय, छैंटो ठ्याक लगाउनेलाई १५ सय, पाँचो ठ्याक लगाउनेलाई ५ सय बराबरको फूड वा कफी कुपन वा टिसर्टरक्याप र इनर्जी ड्रिंक्स, तियो र चारो लगाउनेलाई टिसर्ट र पेन पुरस्कार दिइएको थियो । फिल्मका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए । टुँडिखेलमा खगेन्द्र पुग्दा फ्यानहरुले ‘पशुपति प्रसाद’ भन्दै सेल्फी लिन झुम्मिए । ‘डमरुको डन्डीबियो’ बारेमा जानकारी रहेको बताउदै प्रतिस्पर्धीले फिल्म कुनै पनि हालतमा हेर्ने बाचा गरे ।

छेतेन गुरुङ निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । समृद्दी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।