सानी सानीमा रोमान्टिक इकु

काठमाडौं । पुष २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फिर्के’को रोमान्टिक गीत सार्वजनिक भएको छ । विश्व नेपाली र जुना प्रसाईको स्वर रहेको ‘सानी सानी’ बोलको गीतमा रामशरण नेपालीको शब्द र गायक विश्वको संगीत छ । गीतको भिडियोमा फिल्मका कलाकार सुलेमान शंकर ‘ईकु’ र नवनायिका क्रिष्टिना पौडेलले रोमान्टिक अभिनय गरेका छन् ।

फिल्मको यसअघि सार्वजनिक ट्रेलर र एक गीतले चर्चा पाइरहँदा अर्को रोमान्टिक फ्लेबरको गीत सार्वजनिक भएको हा । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन रवि डंगोलले गरेका हुन् । छ वटा नेवारी फिल्म निर्देशन गरेका रवि ‘तितो सत्य’, ‘जिरे खुर्सानी’लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित छन्। यसअघि ‘ईकु’ र ‘ईकु २’ फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ‘ईकु’ भन्दा फरक भूमिकामा अभिनय गरेका छन् ।

फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि. गुरुङ्को सम्पादन तथा रामकुमार केसीको छायांकन रहेको छ ।