दृश्यांश गर्दै सर्वनाम

काठमाडौं । राजधानीको कालिकास्थानमा रहेको सर्वनाम थिएटरले विगतको वर्षझैं यस वर्ष पनि मोबाइल फिल्म प्रतियोगिता ‘दृश्यांश’ आयोजना गर्ने भएको छ । सर्वनाममा आइतबार पत्रकार सम्मेलन गर्दै निश्चल बस्नेत, अभिनाश विक्रम शाह, दिपक रौनियार र सुशिल पौडेलसम्मिलित निर्णायक समिति सार्वजनिक गरियो ।

प्रतियोगिताकी संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिको कारणले ती कथालाई बाहिर ल्याउन नसकेका युवापुस्तालाई ‘दृश्यांश’ले मूलधारमा ल्याउन सहयोग गर्ने बताइन् । ‘यो प्रतियोगिता नेपालमा नयाँ भए पनि विश्वमा यस्ता प्रकारका महोत्सव धेरै हुने गर्छ,’उनले भनिन्,‘पहिलो संस्करणमा झण्डै ४ सय फिल्मको आवेदन परेको थियो । त्यो उत्साहजनक सहभागिता भएका कारण नै दोस्रो संस्करण गर्न हामी हौसिएका हौं ।’

जुरी तथा निर्देशक निश्चलले कुनैबेला आफूले फिल्म बनाउने सोच्दा प्लेटफर्म नपाएको अनुभव सुनाए । ‘त्यो बेला म फिल्म बनाउन निकै भौतारिएँ । कहिले प्रविधिको अभावमा पनि खुम्चिएँ,’निश्चलले भने,‘अहिले अवस्था फेरिएको छ । यस्ता प्रतियोगिताले फिल्म बनाउन चाहने तर प्रविधिको कारणले खुम्चिएका प्रतिभालाई मूलधारमा ल्याउन सहयोग गर्नेछ ।’

त्यस्तै अभिनाशले पहिलो संस्करणमा राम्रा फिल्म आएको स्मरण गर्दै दोस्रो संस्करणमा पहिलो भन्दा राम्रा फिल्म आउने विश्वास व्यक्त गरे । अर्का जुरी सुशिलले प्रतियोगिता आफ्ना लागि नयाँ अनुभव भएको बताउँदै मोबाइलबाट फिल्म बनाउन चाहनेका लागि अवसर र चुनौति दुवै भएको बताए ।

प्रतियोगिताको सह–आयोजक सिनेमाघरका सागर खरेलले आफूहरुले नेपाली फिल्मलाई विश्वव्यापीकरण गर्ने अभियानका साथ एप्लीकेशनको सुरुवात गरिएको बताए । सर्वनामका निर्देशक अशेष मल्लले संसारमा कलाका विविध विधाहरु भएता पनि ती एउटै छाता भित्रका रहेको जनाए । आयोजकका अनुसार प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले मोबाइलबाट खिचेर बनाइएको अधिकतम ३ मिनेटको फिल्म आयोजकलाई बुझाउनुपर्नेछ ।

प्रतियोगीतामा उत्कृष्ट फिल्मले ७५ हजार रुपैंयाँको ड्रोइड ट्याबलेट, ‘दृश्यांश’ अवार्ड र सर्वनामद्वारा निशुल्क तीन महिने नाट्य कार्यशालाको अवसर पाउनेछ । त्यस्तै ‘फष्ट रनरअप’ले सामसुङ ट्याब ३ भी र ‘सेकेण्ड रनरअप’ले टचकन ट्याव पाउनेछन् । प्रतियोगितामा धेरै हेरिएको फिल्मलाई ‘अडियन्स च्वाइस अवार्ड’ वापत ९ दशमलब ७ इञ्चको आइप्याड दिइनेछ । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगीले माघ १७ गतेसम्म आयोजकसमक्ष फिल्म पठाउन सक्नेछन् ।