‘लिटिल स्टार’को आवेदन खुला

काठमाडौं । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’को दोस्रो संस्करणको लागि आवेदन खुला गरिएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको भविष्य निर्माणमा अग्रसर गराउन आवेदन खुला गरिएको आयोजक एनोवेसन इभेन्ट म्यानेजमेन्टले विज्ञप्तिमार्फत जनाएको छ ।

म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीका अनुसार ७ देखि १४ वर्षसम्मका बालबालिकाले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन् । ‘७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरि तीन समूहको विजेता छानिनेछन् ।’ उनले भने ।

कार्यक्रमको पहिलो चरणको अडिसन आगामी शनिबार हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई संगीत, गायन, नृत्य, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बालअधिकार, अनुशासनलगायत विषयको प्रशिक्षणसहित अन्तिम स्पर्धा उतारिने कार्यक्रमका संयोजक जीवन गिरीले बताए ।

मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफी रहने प्रतियोगितामा गायिका कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाललगायतले प्रशिक्षण दिनेछन् । प्रतियोगिताका विजेताले ट्रफीसहित नगद उपहारसँगै फिल्म, विज्ञापनमा अभिनयको अवसर पनि पाउनेछन् । प्रतियोगितामा विभिन्न २० उपशिर्षकमा समेत विजेता छानिने छ ।