गति लिँदै केकीको कोहलपुर एक्सप्रेस

काठमाडौं । नायिकाबाट निर्मात्रीको ट्याग पाएकी केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ भोलि शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्दैछ । जुनकिरी आर्टस्को व्यानरमा केकी प्रस्तुतकर्ता रहेको फिल्म गत वैशाख १४ गतेबाट नेपालमा रिलिज भएको थियो ।

प्रस्तुतकर्ता तथा फिल्मकी नायिका केकीका अनुसार शुक्रबार फिल्मले ४० प्रतिशतको ओपनिङ गरेको थियो । ‘हामीले सुरुमा सीमित शो पाएका हौं । हलिउडबाट ठूलो फिल्म आएकाले त्यसको केही असर परेको थियो । तर शनिवारबाट फिल्मले गति लिएको छ,’केकीले भनिन्,‘बुधबारसम्म धेरै हलमा फिल्म हाउसफूल चलिरहेको छ । महिला प्रधानताका फिल्म चल्दैन भन्ने कुरा गलत रहेछ ।’

फिल्म हेरेका दर्शकको वर्ड अफ माउथका कारण पनि फिल्मले गति लिएको केकीको दाबी छ । ‘यो हप्ता पनि धेरै हलमा राम्रो शो पाएका छौं । आशा छ दर्शक अझै पनि कोहलपुर एक्सप्रेस हेर्न आउनुहुनेछ ।’ केकीले भनिन् । म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका निर्देशक विशाल भण्डारीको यो फिल्ममा डेब्यु निर्देशन छ । फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, विनोद न्यौपाने र कुसाग्र भट्टराईको अभिनय छ । फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिवप्रसाद चौलागाईको लगानी छ ।