सुनिलको अनन्त यात्रालाई मस्कोमा अवार्ड

काठमाडौं । सर्ट फिल्म ‘अनन्त यात्रा’ले रसियाको मस्कोमा भएको ‘भिडियो आर्ट फेस्टीभलमा ‘नाउ एण्ड आफ्टर’ को अवार्ड हात पारेको छ । सुनिल पाण्डेको लेखन तथा निर्देशन रहेको ‘अनन्त यात्रा’ उत्कृष्ट फिल्ममध्ये तेश्रो भएको हो ।

यसअघि विभिन्न २० भन्दा बढी फिल्म अवार्डको मनोनयनमा परेको यो सर्ट फिल्मले अष्ट्रियामा भएको युकी इन्टरनेश्नल युथ मिडिया फिल्म फेस्टीभल, जर्मनमा भएको बर्लिन एक्सपेरीमेन्टल सर्ट फिल्म फेस्टीभल र नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव, ओस्कर कलेज सर्ट फिल्म फेस्टीभल, एकादेशमा अन्र्तराष्ट्रिय सर्ट फिल्म फेस्टीभलबाट उत्कृष्ट अवार्ड हात पारीसकेको छ ।

हजुरआमाको निधनपछि उनकै सम्झनामा ‘अनन्त यात्रा’ बनाएको निर्देशक पाण्डेले बताए । फिल्मले मानिसको अनन्त जीवन चक्रलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । मानिसको मृत्युपछि सुरु हुने आत्माको अनन्त यात्रा फिल्ममा समावेश छ । फिल्ममा राधा लम्साल मुख्य भूमिकामा देखिएकी छिन् । निर्देशक पाण्डेले अन्य आधा दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् भने अहिले सिंहदरबार – २ टेलिश्रृंखलाको निर्देशन समूहमा रहेर काम गरिरहेका छन् ।