हैरान ट्रेलरमा हत्याराको खोजी

काठमाडौं । आगामी जेठ ४ गते रिलिज हुने फिल्म ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्ममा हत्या भनिएको व्यक्तिको हत्याराको खोजीलाई प्राथमिकता दिइएको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्ममा कमेडी र एक्सनको मिश्रण छ । डेब्यु फिल्म ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री छिन । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्द्वमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ छन् ।