मुम्बई एक्सप्रेस फ्लेबरमा झमकबहादुर ट्रेलर

काठमाडौं । नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को प्रभाव देखिएको बताइरहँदा ‘मुम्बई एक्सप्रेस’बाटै प्रभावित अर्को फिल्म ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले सोमबार पत्रकार माझ ट्रेलर सार्वजनिक गर्दा ट्रेलरमा मुम्बई एक्सप्रेस फ्लेबर हाबी थियो ।

तर निर्देशक भोमन कटुवालले भने आफूहरुले फिल्मको कपी नगरेको दाबी गरे । उनले आफूलाई मुम्बई एक्सप्रेसको कथा केही थाहा नभएकोले आफ्नो फिल्मलाई मौलिक किसिमले बनाएको बताए । मिनकुमार तामाङले निर्माण गरेको फिल्म साउन १८ गते रिलिज हुँदैछ ।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।