तस्बीरमा करिश्मा कपुरको नेपाल यात्रा

काठमाडौं । १५ वर्ष पछि नेपालमा सोमबार पाइला टेक्दा बलिउड नायिका करिश्मा कपुर निकै खुशी थिइन् । बिहान झण्डै साढे आठमा त्रिभूवन विमानस्थलमा ओर्लिएर बौद्धस्थित हायात रिजेन्सी होटल पुगिन् । अनि दिउँसो १२ बजेतिर दरबारमार्गमा झुल्किइन् ।

मेरीगोल्ड सयपत्री ज्वेलर्सको दरबारमार्ग शाखाको उद्घाटन गर्न कार्यक्रमस्थल आइपुग्दा करिश्मा बेग्लै किसिमको चमक देखिन्थ्यो । निला आँखामा राम्रो पहिरन लगाएर उपस्थित भएकी उनले कार्यक्रमस्थलमा पत्रकार तथा दर्शकलाई नमस्ते गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन पछि उनले बोल्ने मौका छोडिनन् । त्यही बेला १४ वर्ष अघि नेपाल आएको पनि स्मरण गरिन् । ‘म १५ वर्ष अघि एकपटक नेपाल आएको थिएँ । मलाई हिमाली देश नेपाल निकै मनपर्छ । म नेपाललाई माया गर्छु,’उनले भनिन्,‘म चौथो पुस्ताको कलाकार र यो गहना पनि चौथो पुस्ताकै छ । त्यसकारण हाम्रो संयोग मिलेको पनि छ ।’

ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले बलिउडका कलाकारलाई नेपालमा बोलाएर कार्यक्रमको शुभारम्भ गर्दा नेपालको पर्यटनसँगै संस्कृतिको पनि प्रचारप्रसार हुने बताइन् । पछिल्लो समयमा फिल्ममा सक्रिय नरहेकी करिश्मा सोमबारै भारत फर्किएकी छन् ।