करिश्माकी कवितासँग शिवपुत्र शक्तिको रोमान्स

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘सन्तान’मा डेब्यु गर्दा उनको उमेर १४ वर्षको थियो । अहिले उनकी छोरी कविता मानन्धर फिल्ममा डेब्यु गर्दा कविताको उमेर २१ वर्षको छ । लामो समय अमेरिकामा बसेर उतै पढाई पुरा गरेकी कविता अभिनेता शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेमकहानी’बाट रजतपटमा डेब्यु गर्न लागेकी हुन् । यो फिल्मबाट अष्ट्रेलियामा बस्दै आएका शिवका छोरा शक्ति हिरोका रुपमा डेब्यु गर्दैछन् ।

नेपालमा जन्मिए पनि अमेरिकामा पढाई पुरा गरेकी कविताले पहिलो फिल्म आफ्ना लागि एउटा अवसर भएको बताइन् । ‘यो फिल्मबाट डेब्यू गर्न पाउँदा म खुशी छु । आफ्नो अभिभावक चिनिनु भएको क्षेत्रमा काम गर्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् । शिव पुत्र शक्तिले आफूलाई सानैदेखिको हिरो बन्ने रहर अहिले आएर पुरा गरेको बताए । ‘म सधै नै बाबालाई कहिले हिरो बनाउने भनेर सोध्ने गर्थें । बाबाले समय आउँछ छोरा भन्नुहुन्थ्यो,’अष्ट्रेलियामा पढेका शक्तिले भने,‘मेरो त अहिले पो बल्ल बेला आएको रहेछ ।’

फिल्म ‘सन्तान’बाट फिल्ममा डेब्यु गर्दा अभिनेत्री करिश्मा १४ वर्षकी थिइन् । अहिले एक्लो सन्तान कविता यो फिल्ममा देखिँदा २१ वर्षकी भइन् । २६ वर्षको उमेरमा फिल्म ‘जीवनरेखा’मा शिव देखिँदा अहिले उनको छोरा शक्ति २६ वर्षमै ‘एउटा यस्तो प्रेम कहानी’मा डेब्यु गर्दैछन् । अभिनेत्री करिश्माले छोरी कविताले फिल्ममा काम गर्न मञ्जुरी दिँदा आफू उत्साहित र अचम्मित भएको बताइन् । ‘उसको निर्णयले म अचम्मित र उत्साहित भएँ । कविताको निर्णयले हामी उत्साहित भयौं । अब फिल्म बनेपछि दर्शक उत्साहित हुनुहुनेछ । किनकी फिल्ममा धेरै सरप्राइज कुरा छन् ।’ उनले भनिन् ।

अभिनेता शिवले दर्शकका लागि आफ्नो छोरा र करिश्माको छोरी सरप्राइज भए पनि फिल्म आफै सरप्राइज प्याकेज भएको बताए । निर्देशक दिपेश सापकोटाले कलाकार अभिभावकका सन्तानलाई अभिनय गराएर निर्माण गरेको फिल्म उत्कृष्ट बन्नेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो । हाल धमाधम छायांकन भइरहेको फिल्ममा शिव श्रेष्ठ, यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, सञ्जोग कोइराला, वर्षा राउत, शिव श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।