अदालतको कठघरामा प्रदिप !

काठमाडौं । फिल्ममा चकलेटी प्रेमीको भूमिकामा अभिनय गर्ने नायक प्रदिप खड्का यतिबेला अदालतको कठघरामा छन् । प्रेमिकाको हत्याको आरोप लागेका उनलाई न्यायालयमा उनीमाथिको मुद्धाको इजलासका लागि अदालतको कठघरामा ल्याइएको हो । यो पढ्दा वास्तविक कथा लागे पनि यो वास्तविक भने होइन् ।

गोपिकृष्ण मुभिजको व्यानरमा बनिरहेको फिल्म ‘रोजी’मा प्रदीप प्रेमिकाको हत्याराको आरोपमा अदालती कठघरामा उपस्थित भएका हुन् । उद्धव पौड्यालको प्रस्तुतिमा बन्ने फिल्मको बुधबार बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा मुहुर्त गरिएको थियो । जहाँ प्रदीप लामो कपाल, दाह्री पाले र हातमा हत्कडी लगाएर अदालतको कठघरामा उपस्थित भए । उनलाई आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको आरोप लागेको छ । अदालतमा न्यायाधिसका रुपमा फिल्मकर्मी उद्धव पौड्याल थिए भने अभिनेत्रीद्वय पारमिता राज्यलक्ष्मी शाह र मिरुना मगर प्रदिपसँगै थिए ।

निरक पौडेलको निर्देशन रहेको फिल्मको कथा अनुप सापकोटाको हो भने पटकथा तथा सम्वाद केदार भुषालको छ । फिल्ममा राजुविक्रम थापाको छायांकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत र दयाराम पाण्डेको गीत छ । गोपीकृष्ण मुभिजसँग आरोही इन्टरटेनमेन्टले सहकार्य गर्दै निर्माण गरिरहेको फिल्ममा कर्मा, कृष्ण शिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहालको अभिनय छ । फिल्म नेपालसँगै दुबइ र फिलिपिन्समा खिचिनेछ ।