बसुन्धरालाई छाँयाछवि लिजेन्ड्री अवार्ड

काठमाडौं । फिल्म ‘आमा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री बसुन्धरा भुषाललाई ‘छाँयाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिने भएको छ । छायाँछवि क्रियशनले राजधानीमा आयोजना गर्न लागेको ‘डि सिने अवार्ड’मा भुषाललाई यो सम्मान दिन लागिएको हो । २०२२ सालमा निर्मित ‘आमा’ पछि भूषालले ‘सिन्दुर’, ‘सन्तान’, ‘कन्यादान’, ‘साथी’, ‘चेलिबेटी’लगायतका सय बढी फिल्ममा अभिनय गरेकी छन् ।

छाँयाछवि क्रिएसनले आयोजना गर्न लागेको कार्यक्रममा वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र कलाकार तथा निर्मात्री मौसमी मल्ललाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ दिइनेछ । २०४९ सालबाट वितरकको रुपमा फिल्ममा आएका महर्जनले आधा दर्जन बढी फिल्म निर्माण गरेका छन् । २०४६ सालमा फिल्म ‘भाग्यरेखा’बाट फिल्ममा आएकी मौसमीले सयौं फिल्ममा अभिनय गरेकी छन् ।

यस्तै आयोजकले पत्रकार श्याम अर्याललाई वर्षको ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । स्याङ्जाका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिता शुरु गरेका श्यामसँग टेलिभिजन, रेडियो पत्रकारिताको अनुभव छ । उनलाई पुरस्कारसहित दश हजार दश रुपैया प्रदान गरिनेछ । छाँयाछविका अध्यक्ष शान्तिप्रियका अनुसार स्रष्टालाई जेठ १० गते सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।