मट्टीमालामा बुद्धिको हिरो रुप

काठमाडौं । माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो ।

टेके पौरखी राईको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा एक्सन, कमेडी र रोमान्सलाई प्रस्तुत गरिएको छ । राईले गाउँमा साहूको ऋण तिर्नका लागि सहर पसेको युवाले भोग्ने कथालाई मट्टी मालासँग जोडेर प्रस्तुत गरिएको बताए ।

पौरखी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा बुद्धि तामाङ, रजनी गुरुङ, शिशिर राना, चिरन राई, पृथ्वी राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, संज्ञा श्रेष्ठ, टेकराज लांघाली, विक्रम लामा र दीपक आचार्यलगायतको अभिनय छ । जेठ २५ गते रिलिज हुने फिल्ममा राहुल राईको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, सुमन राईको संगीत, कविराज गहतराज, राजेश पुमा राई र दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, राजेन्द्र चौधरीको एक्सन छ ।