काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुने फिल्म ‘शिवांशः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा जोगीको भेषमा गरिने आपराधिक क्रियाकलापलाई समेटिएको छ । ट्रेलरमा जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने देखाइएको छ ।
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई प्रस्तुत गरेको सार्वजनिक ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ ।
ट्रेलरको सुरुवाती दृश्यमै अभिनेता प्रविण खतिवडालाई दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको साधुका रुपमा देखाइएको छ । उनको शरीरमा खरानी, हातमा त्रिशूल र उनको आँखामा देखिएको उन्मादले चलचित्रमा एक शक्तिशाली ‘एन्टी(हिरो’ वा रहस्यमयी पात्रको संकेत गर्छ ।
सन्तोषकुमार आत्रेयको निर्देशन रहेको फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । अञ्जान केसी निर्माता फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
सरद महतोको डीओपी रहेको फिल्ममा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् । बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।







