लालीबजारको ग्रस २ करोड ४० लाख

काठमाडौं । स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’ ले बुधबारसम्म देशव्यापी रुपमा २ करोड ४० लाख रुपैंयाँ ग्रस व्यापार गरेको छ । फिल्मका निर्माता म्याक्स दिपेश खत्रीका अनुसार पहिलो सप्ताहन्तभन्दा मध्यतिर अकुपेन्सी, शोज संख्या र कमाइमा बढोत्तरी देखिन्छ ।

यद्यपि, चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिस तथ्यांक भने आउन बाँकी छ । विवाद र अवरोधपछि पनि हाम्रो फिल्मले हलमा उत्कृष्ट कमाइ गरिरहेको छ । सुरुवातभन्दा पछिल्ला दिनमा दोब्बररुपमा कमाइ गरिरहेको छ’ निर्माता खत्रीले भने, ‘पहिलो विकेन्डभन्दा विकडेजमा पनि राम्रो छ । दर्शक बढ्ने क्रममा छन् ।’

उनका अनुसार १८८ शोजसहित देशब्यापी प्रदर्शनमा आएको फिल्मको विहिबारको शोज संख्या २५० हाराहारीमा थियो । शुक्रबार ९ देखि १० हजार दर्शकले फिल्म हेरेको खत्री बताउँछन् । दोस्रो दिन १६ हजार, मंगलबार १७ हजार र बुधबार २१ हजार जना दर्शकले फिल्म हेरेको उनले बताए ।

यम थापा निर्देशित फिलममा फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।