काठमाडौं । फिल्म ‘अमेरिका बोइज’ र ‘बिहे पास’का निर्देशक प्रवेश पौडेलले तेस्रो फिल्म ‘मेरो प्रेम अधुरो’ को निर्माण घोषणा गरेका छन् । आगामी साउनबाट नेपालमा फिल्मको छायांकन हुनेछ ।
नेपालपछि युरोप र अष्ट्रेलियामा छायांकन हुनेछ । फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैरहेको निर्देशक पौडेलले बताए । दुवैजना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिम छ ।
सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावल निर्माता छन्। अभिनेता कबिर पनि यो फिल्मका निर्माता हुन् । उनले एउटा सुन्दर प्रेमकथा दर्शकलाई पस्किने बताए । फिल्मका सहनिर्माता करण खड्का हुन् । फिल्ममा शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् ।





