पानको पात गायकको म हुँ पानीमा राजेश र करिश्मा

काठमाडौं । ‘पानको पात’ जस्ता कालजयी लोकगीतका सर्जक तथा लोक गायक बमबहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक भएको छ । काठमाडौमा शनिबार अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरे ।

प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि सन्देश दिइएको छ । भिडियोमा राजेश हमाल र करिश्मा मानन्धरको अभिनय छ ।

भिडियोमा हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले आफ्नो नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छिन् । भिडियोमा उनीहरूसँगै सगुन कार्कीको पनि अभिनय छ ।

गीतमा बमबहादुर कार्की स्वयम्को शब्द र संगीत छ । स्वरमा कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् । संगीत संयोजन बि.बि.अनुरागीले गरेको छन् ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा हरि हुमागाईँको छायांकन, विकास दाहालको सम्पादन छ । गोरखा म्युजिकमार्फत गीत सार्वजनिक भएको हो ।