प्रकाशको मार्मिक बोल माया

काठमाडौं । परिवारबाट विदा मागेर विदेश पुगेका युवा फर्किदा काठको बाकसमा बन्द भएर फर्किनु परेको पीडामाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ । ललितपुरमा बुधबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिडियो सार्वजनिक गरे ।

प्रकाश सपुतको लेखन, संगीत, रचना र निर्देशनमा बनेको गीतमा फिल्म निर्देशक तथा गायक नारायण रायमाझीको स्वर छ । गायक रायमाझीले नेपाली जनजीवनको यथार्थ कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

गीतमा नारायणसँगै शान्तिश्री परियार र प्रकाशको पनि स्वर छ । मन्त्री विष्टले आफू बढी भावुक व्यक्ति भएकाले गीतले आफूलाई निदाउन नदिने प्रतिक्रिया दिए । ‘गीतमा समेटिएको यथार्थ मैले देखेको छु । यही दुःखद् दिन दूर गर्न हामी अहिले लागिपरेका छौं ।’ उनले भने ।

गायक प्रकाशले आफ्नै आफन्तले भोगेका पीडालाई गीतमा उतारेको खुलाए । ‘एक जवान युवाको सपना बाकसमा बन्द भएर फर्किएको, एक महिला उमेरमै विधवा भएको र साना नानीहरु टुहुरा भएको दुःख मैले नजिकबाट महशुस गरेको छु । त्यही दुःखलाई मैले गीतमा उतार्ने प्रयास गरेको हुँ ।’ उनले भने । भिडियोमा अञ्जली अधिकारीको अभिनय छ ।