मदनकृष्ण भन्छन्–मैले डान्स सिकेको भए पार्किन्सन्स हुँदैन थियो

काठमाडौं । हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले आफूले डान्स सिकेको भए आफूलाई पार्किन्सन्स नहुने दाबी गरेका छन् । बालबालिकाको डान्स रियालिटी शो ‘नेशन्स गट ट्यालेन्टः राष्ट्रको प्रतिभा, सिजन २’ को अतिथी भएर पुगेका उनले डान्स गर्न नसिकेकोमा पछुतो मानेका हुन् ।

‘म त डान्स हेरेर बोल्नै सकिनँ । मलाई पार्किन्सन्स छ । डान्स हेर्दाहेर्दै मनमा यस्तो भयो कि मिथिलाजी (अभिनेत्री मिथिला शर्मा) सँगको जस्तो संंगत भएर पनि मैले कसरी डान्स सिकिनँ ? मैले डान्स जानेको भए मलाई पार्किन्सन्स नै हुँदैन थियो । जिउ फ्लेक्जिबल हुन्थ्यो । डान्स गर्नेहरुलाई कहिल्यै पनि पार्किन्सन्स निस्किँदैन’, उत्कृष्ट ९ राउन्डमा सिरहाकी एनी चौधरीको नृत्य हेरेपछि मदनकृष्णले भने ।

मदनकृष्णले आफूलाई सबैभन्दा राम्रो नृत्य मिथिला शर्माको लाग्ने खुलाए । ‘मलाई नेपालमा डान्स गर्नेमध्ये सवैभन्दा राम्रो डान्स मिथिलाजीको लाग्छ’, उनले भने, ‘मिथिलाजीकोमा अनुहारले नै गीतको शव्द बोलिरहेको हुन्छ । आँखा नाचिरहेको हुन्छ । कोही ठुस्स परेर नाचिरहेको हुन्छन्, तर मिथिलाजीले हासेर शब्दअनुसार गर्ने प्रस्तुति राम्रो लाग्छ ।’ लबबहादुर कार्कीको निर्माण र निर्देशनमा एएनपी मिडिया हाउसको प्रस्तुतिमा शो निर्माण भएको हो ।

शोमा अभिनेत्रीद्वय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन् । शो हरेक आईतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भईरहेको छ । शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ ।