काठमाडौं । नेपथ्य टोलीले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु गरेसँगै नारायणगढको क्याम्पा चौरमा अनेकथरि ‘इफेक्ट’ को प्रयोग देखिन थाल्यो । मञ्च धुवाँमय बन्यो, दर्शक घेरामा पताकाहरू उड्न सुरु भए । रङ्गीबिरङ्गी बत्ती फनफनी घुम्न थाले । दर्शकले चिच्याएर माहोललाई थप रोमाञ्चक बनाए ।
दर्शकको उल्लासमय उपस्थितिमाझ नेपथ्यले एक दशक पुरानो गीत ‘हो रामा रामा’ पछि ‘भेडाको ऊन’ र झन्डै साढे तीन दशक पुरानो ‘छेक्यो छेक्यो’ सुनायो । त्यतिन्जेल मैदानका कुनाकाप्चामा रहेका थोरै खाली ठाउँ पनि भरिइसकेका थिए । बाहिर भने टिकट सकिएकाले निराश भई फर्कनेहरूको लर्को देखिन्थ्यो ।
यो त्यही क्याम्पा चौर हो, जसको छेवैमा ‘नारायणी कला मन्दिर’ छ । २५ वर्षपहिले त्यस सभागृहमा पाँच सय दर्शक जुटाउन पनि नेपथ्यलाई हम्मे–हम्मे परेको अनुभव ब्याब्डका गायक अमृत गुरुङसँग छ । मङ्गलबार साँझ भने क्षमताले नै नधान्ने गरी दर्शक ओइरिएका थिए ।
‘हेर्न आइसकेका दर्शकलाई सकेसम्म प्रबन्ध मिलाउने कोसिस गरेका थियौँ,’ स्थानीय आयोजक ‘नेपाल डायरिज’ का बिनेश थापा भन्दै थिए, ‘क्षमताले नै नभ्याउने भएपछि अनलाइनको टिकट पनि रोक्न बाध्य भयौँ ।’
करिब आठ हजार दर्शकमा तन्नेरी वयका युवकयुवतीको बाहुल्य थियो । उता गायक अमृत घरी ‘रोदीमा जस्तो नाचौँ न हई’ भनेर ‘लामपाते सुरती’ गाइरहेका थिए भने घरी ‘मायामा जातपातको कुरा हुँदैन’ भनेर तन्नेरी मनलाई उचाल्ने गरी ‘चरी म¥यो’ गीत सुनाइरहेका थिए ।
उनले कार्यक्रममा परोपकारको आह्वान गर्दै अर्को गीत ‘यो जिन्दगानी’ पनि सुनाए । त्यस क्रममा भने, ‘दानीहरूको उदारताले नै यस दुनियामा धेरैले बाँच्ने मौका पाएका छन् । छरछिमेकमा शिक्षाको उज्यालो नपाएका केटाकेटी छन् भने उनीहरूलाई स्कुलको दैलो टेकाइदिनुजस्तो पुण्यको काम अर्को केही हुँदैन है ।’
‘नेपथ्यका सबै गीतमा शुद्ध नेपाली आत्माको गन्ध पाउँछु,’ सन्देश भनिरहेका थिए, ‘त्यसैले यो ब्यान्डको कार्यक्रम सकेसम्म छुटाउने गरेको छैन ।’ यसअघि पनि चितवनमै नारायणी नदीको किनारमा नेपथ्यको कन्सर्ट हुँदा आफू उपस्थित रहेको उनले सुनाए ।
कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ–गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले दर्शकमा जागेको भावनालाई विचारले समेत जोड्ने प्रयत्न गर्दै आसन्न निर्वाचनमा डर वा प्रलोभनमा नफसी योग्य प्रतिनिधि चयन गर्न आह्वान गरे ।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै सर्वकालिक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ प्रस्तुत भए । अन्तिममा ‘रातो र चन्द्रसुर्जे’ बाट कार्यक्रमको बिट मारियो । मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । यो शृङ्खलाको अन्तिम कन्सर्टका लागि नेपथ्य रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गरिसकेको छ । त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् भ्यालेन्टाइन्स डे कै साँझ नेपाली लोकरक गुन्जिनेछ ।







