पोर्चुगल । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलद्वारा सोनाम ल्होछारको अवसरमा आयोजीत सांस्कृतिक कार्यक्रम बृहत् रुपमा पोर्चुगलमा सम्पन्न भएको छ। निर्वासनमा रहे पनि आफ्नो भाषा, संस्कृति, पोशाक र पहिचानलाई जीवित राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा तामाङ समुदाय मात्र नभएर पोर्तुगलमा रहेका बिभिन्न समुदायहरुको पनि उल्लेखनीय सहभागिता देखिएको थियो।
नयाँ वर्षको प्रतीक सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रमले विदेशी भूमिमा पनि मातृभूमिको सुगन्ध र सम्झना फैलिएको महसुस गराएको थियो। तामाङ समुदायको मौलिक पोशाक र शैलीमा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य, गीत र परम्परागत प्रस्तुतिहरुले कार्यक्रमलाई साँच्चै उत्सवमय बनाएको थियो।
प्रमुख अतिथि एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल र विशेष अतिथि पोर्चुगलस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपाल दय द्वारा पानसमा बत्ती बाली कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा पोर्चुगलमा सक्रिय विभिन्न सामाजिक, साहित्यिक र राजनीतिक संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो। औपचारिक कार्यक्रमको सामूहिक रूपमा उद्घाटन गर्दै वक्ताहरूले डायस्पोरामा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्त्वमा जोड दिए।
सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण नेपालबाट विशेष रूपमा आमन्त्रित प्रसिद्ध गायक उर्गेन दोङको दमदार प्रस्तुतिमा मस्तले झुम्दै दर्शकहरूले उनका लोकप्रिय गीतहरूमा नृत्य पनि गरे। त्यस्तै, नेपालबाट आमन्त्रित अर्की गायिका रमला पाख्रिनको सुमधुर र ऊर्जावान प्रस्तुतिले पनि दर्शकहरूको मन जित्यो ।
पोर्चुगलका स्थानीय कलाकारहरूको योगदानले पनि कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो। पोर्चुगलमा रहेका गायक अर्जुन सुनाम, कला पंगेनी लगायतले आफ्नो प्रस्तुति मार्फत प्रवासी नेपालीहरूको भावना र पीडा प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन दिए।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमान शिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रमले प्रवासमा रहेका तामाङ समुदाय लाई एकताबद्ध गर्यो र उनीहरूलाई आफ्नो संस्कृति र पहिचानमा गर्व गर्ने अवसर प्रदान गर्यो, सहभागीहरूका अनुसार। सोनाम ल्होछारको यो सांस्कृतिक महोत्सवले विदेशमा जीवनको व्यस्तताको बाबजुद पनि आफ्नो जरा र संस्कृतिमा जोडिन मानिसहरूलाई स्पष्ट रूपमा प्रेरित गर्यो। कार्यक्रम फेब्रुअरी ८ मा आयोजना गरिएको थियो।







