करोड क्लबमा सरोजको छलाङ

काठमाडौं । गायक सरोज ओलीका तीन म्युजिक भिडियोले करोड क्लबमा छलाङ मारेका छन् । तीन वटै भिडियोले करोड क्लबमा नाम लेखाएपछि ह्याट्रिकको छलाङ मारेको हो । गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’, ‘माछीले खाने खोलीको लेउ’ र ‘जता जता पिरतीको बाटो’ बोलको गीतले युट्युबमा १ करोड बढी दर्शक पाएको हो । योसँगै गायक ओली आधुनिक गीतअन्तर्गत युट्युबमा तीन ओटै गीतमा करोड दर्शक पाउने पहिलो गायक बनेका छन् ।

ओलीले गाएका तीन वटै गीतमा संगीतकार बसन्त सापकोटाले संगीत र गीतकार दिनेश थपलियाले शब्द कोरेका छन् । संगीतकार सापकोटा र गीतकार थपलियाले पनि आधुनिक गीतको करोड क्लबमा ह्याट्रिक गरेका छन् ।

राजधानीमा बिहीबार पत्रकारमाझ गायक ओली र उनको समूहले खुशी बाँडेको थियो । कार्यक्रममा कार्टुन्ज क्रुका सदस्यहरुको उपस्थिति थियो । ओलीका करोड पुगेका तीन गीतमध्ये दुई गीतमा कार्टुन्ज क्रुले फिचरिङ गरेका थिए । कार्यक्रममा संगीतकार सापकोटा र गीतकार थपलियाको सहकार्यमा गायक ओलीले नयाँ गीत ‘पानी कुवाको’ ल्याउने र यो गीतमा कार्टुन्ज क्रुले नै अभिनय गर्ने पक्का भइसकेको जानकारी दिइयो ।