काठमाडौं । सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापा फिल्मको प्रस्तुतकर्ता छन्। फिल्मको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ।
फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहेका छन्। क्यामेरामा सौरभ लामा र द्वन्द निर्देशन हिमाल केसीको रहनेछ। फिल्मको छायांकन ६० प्रतिशत अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिनेछ। कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै फाइनल गरिने जनाइएको छ।
निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गरेका छन्। सो टुर सकिएलगत्तै फिल्मको छायांकन सुरु गरिनेछ। अस्ट्रेलियाबाट ‘पि आर’ चलचित्रका केही कलाकार दोहोरिने जानकारी दिइएको छ। फिल्ममा दुई नायक र दुई नायिका रहनेछन्। तीमध्ये एक नायक र एक नायिका चर्चित अनुहार हुने निर्देशक बस्नेतले बताए।






