इलाममा खुल्यो फ्रेन्डस् सिनेमा

काठमाडौं । फ्रेन्डस् सिनेमाले इलाममा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि इलाममा विस्तार गरेको हो । इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो फिल्म घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका निर्देशक आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा फिल्म घर तयार भएको हो ।

एउटा स्क्रिन रहेको यो फिल्म घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ ।

‘ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ,’ तामाङले भने, ‘हामी सिनेमाको बजार विस्तार गर्नुपर्छ भन्छौँ, तर चलचित्र घर भने काठमाडौं र ठूलो सहरमा मात्रै केन्द्रित गर्छौं । बजार विस्तार गर्ने हो भने हरेक जिल्लामा सुविधासम्पन्न हल सञ्चालनमा आउनुपर्छ ।’

अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा फिल्म हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना फिल्म घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।