सानेको गंगारानीमा वर्षा

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ ।

रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले फिल्मभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ । त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छायाँ देखाइएको छ, जसले फिल्मको कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ ।

पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ । सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ । यो फिल्मको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने फिल्मका निर्देशक राजबहादुर सानेले बताए ।

आहा फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् । फिल्ममा लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ । यो सँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ । एक पोस्टरमार्फत टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो ।

पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ ।आवेदन अवधि जेठ २० सम्म रहनेछ ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन् । ‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए ।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको तथा निर्देशक सानेले नै निर्देशन गरेको फिल्म ‘लज्जावती’ प्रदर्शको तयारी तयारीमा छ ।