माया भनेकै यस्तो होलामार्फत निर्देशनमा रेखा थापाको कमब्याक

काठमाडौं । नयाँ नेपाली कथानक फिल्म ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको अवसर पारेर राजधानीमा फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

यो फिल्ममार्फत अभिनेत्री रेखा थापा आठ वर्षपछि पछि पुनः निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिल्म हो ।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।

फिल्मको दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखाइएको छ । पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् ।

दोस्रो पोस्टरमा अभिनेता दिल एक वृद्ध (कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ ।

फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता छन् ।

सुदीप बराल डिओपी रहने यस फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, संगीत प्रशान्त सिवाकोटीको हुनेछ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यस फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।