काठमाडौं । फिल्म ‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने भएको छ । भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले फिल्मलाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने जिम्मा लिएको छ । कम्पनीले आफूहरु भारतको रिलिजका लागि निर्माताको रुपमा जोडिएको जनाउँदै फिल्मको कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताएका छन् । निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै फिल्म भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो ।
फिल्मले अहिलेको युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ ।
इन्फिनिटीले फिल्मले भारतीय युवा दर्शकको पनि मनोविज्ञानलाई समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ । दक्षिण एसियाका कथा संसारभर पुर्याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित फिल्मकोे वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ ।
इन्फिनिटीका प्रतिनिधिले भने,‘रमिताको पिरतीले आजको युवाको प्रेम जीवनलाई दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि मजाले रिलेट गर्न सक्छन् । राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ ।’
अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेकोे र चाँडै भारतका कुन कुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सुदिप्ताको निर्देशनमा बनेको फिल्ममा आना शर्मा, विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी आदि कलाकारको अभिनय रहेको छ ।






