ऋतिकको सुपरहिरो मोह

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋतिक रोशनले फिल्म ‘क्रिस’मा अभिनय गरेपछि मात्र आफ्नो वास्तविक अभिनयलाई बाहिर ल्याए । फिल्म ‘क्रिस ३’मा पनि उनै ऋतिक सुपरहिरोकै अवतारमा देखिए । ऋतिक बलिउडका एक मात्र कलाकार हुन् जो सुपरहिरो भूमिकामा बलिउडमा उदयीमान बने । अब उनी पुनः त्यस्तै सुपरहिरोको भूमिकामा दर्शकमाझ आउने तयारी गरिरहेका छन् । तर उनको त्यो तयारी ‘क्रिस ४’बाट भने होइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्देशक रोहित धवन नायक ऋतिकलाई लिएर नयाँ सुपरहिरो फिल्म बनाउने तयारी गरिरहेका छन् । उनी यतिबेला फिल्मको स्क्रिप्ट लेख्नमा व्यस्त छन् । लामो समयदेखि एकापसलाई चिन्दै आएका ऋतिक र रोहित अब फिल्म निर्माणमा सहकार्य गर्ने योजनालाई मुर्त रुप दिन सुपरहिरो जनराको फिल्म बनाउन लागेका हुन् ।

ऋतिकसँगको सल्लाहमा फिल्मको वानलाइन तयार भएपछि रोहित स्क्रिप्टको काममा व्यस्त छन् । यो बीचमा ऋतिकलाई अन्य फिल्मको अफर आए पनि सबै अफरलाई अस्वीकार गरेर साथीकै फिल्ममा काम गर्ने सोच बनाइसकेका छन् ।

स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भएपछि ऋतिकले फिल्मको मोडालिटी बनाएर अनुबन्ध पत्रमा हस्ताक्षर गर्नेछन् । फिल्म सुपरहिरो फ्लेबरमा भए पनि ‘क्रिस’ भन्दा फरक शैलीको हुनेछ । फिल्मका लागि अत्याधुनिक भीएफएक्स र सीजीआइ टेक्नोलोजी प्रयोग गरिनेछ । यो फिलम अघि ऋतिकले ‘सुपर ३०’ र सिद्धार्थ आनन्दको फिल्ममा उनी टाइगर श्राफ र बानी कपुरसँग हुनेछन् ।