काठमाडौं । अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई एम जितबहादुर’को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै टिजरले झन्डै साढे ६ लाख भ्युज पाएको छ भने ६ हजारभन्दा बढी लाइक र करिब पाँच सय कमेन्ट प्राप्त गरेको छ।
दर्शकले टिजरको प्रस्तुति र स्टाइललाई निकै फरक र आकर्षक भन्दै प्रशंसा गरेका छन् । फिल्म ‘पाँच पाण्डव’को छायांकनमा व्यस्त जीतुले टिजरले पाएको मायाबाट उत्साहित भएको बताए । ‘हामी छिट्टै फिल्मको प्रदर्शन मिति घोषणा गर्नेछौं र क्रमशः अन्य प्रचार सामग्री सार्वजनिक गर्नेछौं’, उनले भने ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्दछ। फिल्ममा जीतु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालको अभिनय छ ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले सह–निर्माण गरेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्म आगामी असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।




